कविता - आमा र घर

अमृत भीमानेली

 

आमा भन्नुहुन्छ—
हिजो लाग्थ्यो,
मेरो छोराको ठूलो घर होस्
र म, ठूलो घरको बार्दलीबाट
तिमी आएको देखिरहूँ।

अहिले यो ठूलो घरमा,
कि, म छु
कि, मेरो छायाँ छ ।
 
न आइरहने तिमी छौ।
न सफा गरिरहने मान्छे छन्।
न हल्ला गरिरहने
मुसा, छुचुन्द्रा र माउसुलीहरू छन्।
 
बरु म मरिजाउँ,
मसँग नभए पनि
घरसँग भेट त हुन्छ तिम्रो ।
 
र सायद,
त्यो दिन
यो ठूलो घरले पनि
आफ्नो छोरा भेट्ला।

Comments

Popular posts from this blog

कविता - रसुवाको पीडा

कविता - एउटा भ्रम