कथा - हाँसिरहेको एउटा लास

- अमृत भीमानेली
पहिलोपटक उनलाई सिन्धुली अस्पतालको बिलिङ काउन्टरको लाइनमा, सबैभन्दा अन्तिममा उभिइरहेको देखेको थिएँ। सामान्य कद, कालो वर्ण, जनजातिय अनुहार, मझौला आँखा, गाउँले लुगा, अलिक ठूलो मुख अनि खुट्टामा प्लाष्टिक चप्पल – यही हुलियामा थिए उनी। म अर्को लाइनमा उनको सँगसँगै भएकोले एकपटक हेरेको थिएँ तर उनको उपस्थितिले खासै तानेको थिएन मलाई।
"यो लाइन पनि हतारकै बेलामा चैं झन् कति लामो हुन्छ होइ?"
सुन्ने मान्छे पनि अलि टाढै छ कि झैं गरी, पुरै जनजातिय लवजमा ठूलै आवाजमा बोलेकाले "को आएछ यहाँ?" भन्ने भावमा सबै उनकै अनुहारतिर हेर्न थाले । चिनेका मान्छेले "ए, राजकुमार पो !" भने, नचिन्नेले चिन्नेहरुसँग "को हो ?" भनेर साउतीमै सोध्न थाले । म भने लगभग मौन। जे होस्, नाम थाहा पाएँ - 'राजकुमार' रहेछ । एकपटक उनको अनुहार हेरें र 'यो अनुहारलाई कसले राजकुमार नाम राखे होलान्' भनेर मनमनै हाँसें । वास्तवमा अनुहारले कहिल्यै राजकुमार नदेखिने उनै राजकुमार जतिबेला पनि हाँसिरहेकै देखिन्थे । उनको हाउभाउ, बोल्ने शैली, आवाज र लवज साँच्चै विचित्रैका थिए । अझ भनौं, भएकामध्ये नमुना नै थिए उनी ।
"तपाइँ पनि हाडजोर्नीमै हो भाइजी ?"
चिने झैं गरी "भाइजी" भनेपछि म पनि नबोलिरहन सकिनँ । छोटो उत्तर दिएँ - "हो, दाइ ।"
उनी रोकिनेवाला थिएनन् – "अब त अस्पताल पनि पानीपँधेरो जस्तै पो भयो हौ, भाइ !"
चिनजान गरेकै थिएन उनी अनौपचारिक भइहाले । मैले उनलाई नचिने पनि मेरो घरपरिवारका त तीनपुस्ता चिनेका रहेछन् ।मलाई नजिकिन समय लागेन । उनी मेरा 'दाइ' भनिए ।
उनी 'माझी' रहेछन् मरिण खोलातिरका । सरकारी सेवामा रहेछन्। हाँस्दै भन्थे – "मान्छे प्राविधिक हुँ तर काम चाहिँ सबै अप्राविधिक गर्नुपर्छ ।" उनको अनुसार, प्राविधिक काममा भन्दा बढी पन्जीकरण, दर्ता चलानी, बैठकको माइन्युट जस्ता काममै अल्झिनुपर्ने रहेछ ।
स्कुले उमेरमा उनी अलि लजालु स्वभावका थिए रे। धेरै नबोल्ने। चाहिने ट्वाक्क बोल्ने । साथीहरुसँग पनि संगत कम गर्ने । त्यसैले साथीहरुले – 'यो राजकुमार त नाम मात्रैको केटा हो' भन्थे रे। तर यति हुँदा हुँदै पनि उनी कलाकार थिए । नाटक लेख्थे, आफैं खेल्थे । गीत, कविता, गजलहरु लेखेर कार्यक्रमहरुमा सुनाउथे । अझ पहिले त पत्रमित्रता खुप् गर्थे अरे । हाँस्दै भन्थे – "आफ्नो अन्वार अफ्रिकनजस्तो, पत्रमा अन्वार नदेखिने अनि मान्छे त पट्टिहाल्ने ।"
उनी खासमा हाडजोर्नीका पूराना विरामी हुन् । नशा च्यापिएका कारण ढाड-कम्बरमा समस्या छ । लामो समय एकै ठाउँमा बसेर काम गर्न सक्दैनन् । घुँडाको दुखाइ उस्तै, लामो समयसम्म खुम्च्याइरहन वा तन्काइरहन सक्दैनन् । त्यसैले नियमित फलोअपको लागि कहिले सिन्धुली त कहिले काठमाण्डौं गइरहन्छन् । र, औषधी खाइरहन्छन् ।
माघको कुहिरो नलागेको एक बिहान, म कामको सिलसिलामा बेलघारी जाँदै थिएँ । राजकुमार दाइ धुराबजारमा हतारका लामो पाइला फट्कार्दै बसपार्कतिर जाँदै रहेछन् । अफिसको कामले यतै थिए कि भन्ने लाग्यो । दौडिरहेको बाइकमा ब्रेक लगाउदै जिस्काउदै भनें – "मावली हो कि ससुराली दाइ? दौडेको देख्दा त साली अर्कैले टप्काएझैं छ त ?"
"जाँठा, तँलाई।" उनले हाँस्दै जवाफ फर्काए –"म काठमाडौं हिडेको, केटा ! आँखा निकालेर गुच्चा खेल्छु अब । नदेख्ने आँखा किन बोकी हिड्नु भारी मात्रै ।"
मलाई पो गाली गरे कि भन्ने लागेको थियो। आफ्नै आँखामा समस्या भएर रिसाएका रहेछन् ।
वास्तवमा दाइको दाहिने आँखा पहिलेदेखि नै समस्यामा रहेछ । चिलाइरहने, बिझाइरहने र बेला-बेला आँसु आइरहने। काठमाडौंका सबै अस्पताल धाइसकेपछि अहिले नियमित औषधि हालिराख्नुपर्ने र फलोअपमा गइरहनुपर्ने। हाडनशा मात्र भनेको त आँखाका पनि दिर्घरोगी रहेछन् उनी ।
हामी भेट्दै जिस्किदै गर्दा साँच्चैको यारी भइसकेका थियौं ।
एक दिन उनी उसैगरी सिन्धुली अस्पतालको गेटमा भेटिए । त्यो बेला घाँटीको समस्या लिएर आउनुभएको रहेछ । घाँटीको पनि औषधी चलाइराख्नु भएको रहेछ । बेला-बेला घाँटी खसखसाउने, चिलाउने र आवाज घ्यार-घ्यार आउने हुदो रहेछ ।
धेरै जसो जिस्केरै कुरा गर्ने भएर होला, अब त उहाँसँग दुखका कुरा थोरै, ख्यालठट्टा धेरै हुन थालिसकेको थियो ।
"होइन हो दाइ, तपाइको ज्यान त रोगको कारखाना नै हो कि के हो ? बरु कुनै अस्पताललाई रिसर्च गर्न दिनु, केही काममा त आउछ ।" मैले जिस्काउँदै भनें ।
उनी हाँस्दै जवाफ दिन्थे – "अव त्यै मात्रै बाँकी छ, केटा ।"
"अब रोग लाग्न बाँकी चाहिँ कहाँ छ दाइ? " – म अझै थप्थें ।
"जाँठा तँलाई किन चाहियो ? हस्पिटल आएको देखेर सोधेको होलास् हैन ? ल सुन् – हाडजोर्नी थाहा पाइहालिस् । आँखाको पनि देखिहालिस् । घाँटीको इ....... चेक हुँदैछ, यो पनि पहिलेदेखिकै हो । पायल्स भएर कण्डोबाट रगत बगेर हैरान छ । अपरेसन नै दुइपटक गरिसकें, निको भएकै छैन । दाँतले अत्ति दुख दिएकोले बंगारा पनि सबै नक्कली हालिसकियो । कानले राम्रोसँग सुन्दिनँ । होइन हो, केटा ! रोगले पनि कति लब गरेको हो मलाई ? तैले भनेजस्तै, बाँकी त केही पो रहेनछ त ?" – सारा सुनाएर प्रतिप्रश्न गर्नुभयो दाइले । भर्खर चालिस उक्लिदै गरेको दाइको यो पीडा सुनेर मेरो बोल्ती नै बन्द भयो ।
तै पनि भनें – "तपाई पनि धमिराकै दरबार हुनुहुँदो रहेछ, दाइ ।"
कसैको जिन्दगीमा यत्तिको पीडा भए के गर्थे होलान् ? तर दाइ, सार्है पोजेटिभ हुनुहुन्थ्यो ।दुख पीडा भुलेर रमाउन सक्ने, सधैं हँसिलो, जोसँग पनि जिस्केर बोलिरहने । बोलीले नविझाउने । व्यवहारले नरुवाउने । शान्त । सौम्य । सहज । सरल ।
दाइले विहे गर्नु भएछ । मैले थाहै पाइनँ।
एक साँझ तरकारी बजारतिर दाइ नयाँ अनुहारकी एकजना केटीसँग हिडेको देखें ।दाइसँग हिँड्ने केटीहरु आफन्त पर्ने या गाउँकै या प्रायः चिनिरहेका, या देखिरहेका हुन्थे।नचिन्ने केटीसँग हिडेको देखेपछि एकदिन जिस्काउँदै सोधें – "दाइ बाटो फेरेको हो ? यो आँखाले त बाटो हिड्ने मान्छेहरु चिन्दिनँ त ?"
दाइले लाक्षणिक लज्जा मिसाउँदै भन्नु'भो – "झ्याइँ पारि'दें केटा। बे गर्दिनँ भनेर भाग्दाभाग्दै दाइहरुले समाते । उम्किनै सकिनँ ।" बिहेको कथा अर्कै रमाइलोको छ ।
विहे पछि पनि हाम्रो भेट भइरहन्थ्यो । उनीहरुको जोडी साँच्चै भगवानले नै जुराइदिएझैं थियो । भाउजु पनि उस्तै सरल, सहज र शान्त । दुबैजना वर्तमानमा जिउने, भएकोमा रमाउने अनि भोलिको पछि नदौडिने । क्या गजब। सधैं रमाइलो । सबै रमाइलो ।
आजकलको जिन्दगी हेरौं – सधैंको भागदौड, हतार, छलकपट, तनाव, दरार । मलाई उहाँहरु देखेपछि लाग्छ – जिन्दगीलाई उसकै तरिकाले बग्न दिनुपर्छ निरन्तर, बिना अवरोध । न हिजोको पश्चाताप, न भोलिको चिन्ता । हुनुपर्ने जिन्दगीको खास गन्तव्य पनि यही थियो।
सुखदुःख जीवनको पाटो भए पनि दुःख त दाइको साथी जस्तै भइसकेको थियो।
एक साँझ दाइको फोन आयो।
"ए केटा! हामी त जोरपाटीतिर पो आइपुग्यौं त हो ?" दाइ अलि मधुर स्वरमा बोल्नुभयो । सायद पहिलोपटक होला उनको बोलीमा यत्ति सुस्तता छाएको ।
"के भयो दाइ ?" प्रतिप्रश्न गरें मैले ।
"रौतहटतिर झरेका थ्यौं । चपुरमा गाडीबाट झर्ने बेला अटोले हानेर भाउजुको दाहिने हात दुई ठाउँमा पो भाँच्चियो ।"
म स्तब्ध भएँ । "ए! ल दाइ, भाउजुको राम्रो उपचार गर्नु । खर्च त उसैले बेहोर्छ नि ?"
"कुरा त भको छ ।उपचार सकेर भेट्ने कुरा छ ।"
दाइसँग कुराकानी गरेर फोन राखें । त्यसपछि पो दिमाग हल्लिन थाल्यो । दाइ, यत्ति सोझो हुनुहुन्छ । कसैको चित्त दुखाउनु हुन्न । त्यहाँ बोल्न सकेन भने त पैसा आउँदैन । फेरि अर्को ऋण बोक्ने हुनुभो दाइले ।
नभन्दै पटक पटकको छलफल गर्दा पनि पैसा दिने कुरा अटोवालाले गरेनछन् । उल्टै हाम्रै गल्ती देखाउने र उसैकै समस्या ठूलो देखाउन थालेपछि दाइ पनि दिक्दार हुनुभएछ र दिन्छु भन्ने आश्वासनमै सहमति बनाएर फर्किनुभएछ ।
यसैबीच जेठो छोराको हर्नियाको समस्या बोकेर हस्पिटल धाइरहनुभएको थियो दाइ । पछि भाउजुको घाँटी दुख्ने समस्या थपिएछ । अब आफ्नो भन्दा पनि ठूलो, परिवारको समस्या बोकेर बाँचिरहनु भएको थियो दाइ ।
कहिल्यै औषधी र अस्पतालको नाम सुन्न नचाहने बुबा पचासी वर्षको उमेरमा निकै बिरामी भएपछि अनेक बहानाबाजी गरेर अस्पताल ल्याइएको थियो ।अस्पतालमा कसैको कुरा नसुन्ने उहाँलाई उपचार गर्नु सामान्य कुरा थिएन । अस्पतालको बेडमा सुत्न मान्नु हुन्नथ्यो ।स्वास्थ्य जाँच गर्न मान्नुहुन्नथ्यो । औषधी खान मान्नुहुन्नथ्यो । चढाइएका स्लाइनहरु चुडाएर फाल्नुहुन्थ्यो । छोराहरुलाई – तिमीहरुले मलाई मार्न ल्याएका हौ । मलाई घर जान देउ भनेर जवरजस्ती गर्नुहुन्थ्यो । निकै कष्टले चारदिन राख्नुभो । पाँचौं दिन थेग्नै नसकेपछि घर लिएर जानुभएको दोस्रो दिनमा बुबाले संसार छोड्नुभो । म पनि मलामी गएँ । दाइको अनुहार पहिलेजस्तै सामान्य । हँसिलो ।शान्त । मानौं, यहाँ कसैलाई केही भएकै छैन । फेरि तिथिको समयमा पनि गएँ म । दाइको अनुहार अझै उस्तै । शान्त । सामान्य। हँसिलै ।
बुबा बित्नु भएपछि दाइ र मेरो भेट अलि कम भयो । दाइ पनि घर र कार्यालय दुबैको समय व्यवस्थापनमा अल्झिनुभो । आमा पनि अलि धेरै बिरामी हुनुभो । आमाको स्याहारमा धेरै समय दिन थाल्नुभयो । यति गर्दागर्दै पनि बुबा बितेको ठीक सातौं महिना टेक्दा आमा पनि यो संसारमा रहनुभएन । दाइ, साँच्चै एक्लो हुनुभो ।
आमाको निधनपछि पनि मलामी गएँ म । अनि तिथिको काममा पनि गएँ । दाइ अझै उस्तै । सामान्य । शान्त । सबैसँग जिस्किरहेका । उस्तै हँसिलो ।
बरु म आफैं पो दाइलाई सम्झेर निस्सार भएँ ।
दाइ आफैं रोगको दरबार । हाडजोर्नी, आँखा, दाँत, घाँटी, पायल्स अनेक नाममा टाउकोदेखि खुट्टासम्म, मुखदेखि मलद्वारसम्म उपचार गराइरहनुभएको छ । भाउजुको पनि घाँटीको समस्या । बुबाको बर्षी नआउदै आमालाई पनि बिदा गर्नुपरेको समय । कत्ति पीडादायक होला ? बुबाआमाको सम्झना राखेर अनेक समस्यासँग लड्दै घरको जिम्मेवारी काँधमा बोक्न साँच्चै कसरी सकिएला ?
एकदिन दाइलाई भेट्न हामी परिवार नै दाइको घर पुग्यौं । दाइ पानीको पाइप जोड्दै हुनुहुन्थ्यो । हामी अप्रत्यासित रुपमा देखेपछि दाइ हाहा गर्दै हाँस्नुभो । "जाँठाहरु थाहै नदिइ पो आउँछ" भन्दै घरभित्र रहेको भाउजुलाई भन्नुभो – "ए बुढी ! तेरो कान्छाकान्छी आएछ । भित्र बोला ।"
सबैथोक भएर पनि केही नभएजस्तो । सबैथोक सहेर पनि सधैं हँसिलो । जिस्किरहने । हँसाइरहने । सामान्य जीवनशैली। जनजाति लवज। सरल । शान्त । यस्तै-यस्तै विशेषण दिन मन लाग्ने एउटा असाधारण मान्छेले बाँचिरहेको जिन्दगीको नाम हो – "हाँसिरहेको एउटा लास"
समाप्त
Comments
Post a Comment